तनहुँमा चितुवा आतङ्कपछि फलामे खोर
तनहुँ | भदौ १०, २०७९
तस्बिर रासस
तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारमा बुधबार साँझ चितुवाले आक्रमण गरी तीन वर्षीय बालक शुलभ परियारलाई सख्त घाइते बनाएपछि स्थानीयवासीमा त्रास पैदा भएको छ ।
चितुवाले उक्त क्षेत्रमा पटकपटक पशु र मानिसमा आक्रमण गरी घाइते बनाउन थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । चितुवा गाउँका घरघरमा हिँड्न थालेपछि बन्दीपुरवासी डरले साँझ परेपछि घर बाहिर निस्कन सकिरहेका छैनन् ।
बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढेकाले सुरक्षित रुपमा बस्न आग्रह गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बालबालिकालाई घर बाहिर निस्कन नदिन र गाउँमा चितुवा देखिएमा तुरुन्त सम्पर्क गर्न जानकारी गराइएको उहाँले बताउनुभयो ।
स्थानीय गोजे सामुदायिक वनमा चितुवाका लागि पासो थाप्न यसअघि तीन वटा खोर राखिए पनि आज पुनःएक खोर थप गरिएको उहाँले जानकारी दिनुभयो । चारवटै खोर फलामको रहेकाले चितुवा पासोमा नपरेको भन्दै काठको खोर बनाएर राख्न गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी चितुवा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी स्थानीयवासीलाई सुरक्षाको अनुभूति गराउने कार्य गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
खोरमा बाख्रा र कुकुरसहित राखेर कसरी चितुवालाई नियन्त्रणमा लिन सकिन्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँले बताउनुभयो । त्रसित स्थानीयवासीमा सुरक्षाको अनुभूति गराउने उद्येश्यले जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा सुरक्षागस्ती खटाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरुपमा गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । सुरक्षागस्तीसहित उक्त सामुदायिक वन क्षेत्रमा चितुवालाई पासो थाप्नका लागि खोर राखिएकोसमेत उहाँले बताउनुभयो ।
बुधबार साँझ करिब ५ बजेको समयमा सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारमाथि चितुवाले आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।
साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेको समयमा चितुवाले बालकलाई आक्रमण गरी लगेको स्थानीय वासु पन्थले जानकारी दिनुभयो ।
चितुवाले घरदेखि करिब ५० मिटर टाढा पुर्याएको अवस्थामा आमा लक्ष्मीले चितुवाको मुखबाट छोरा खोसेर बचाउन सफल हुनुभएको छ । बालकको घाँटी तथा शरीरका अन्य भागमा गहिरो चोट लागेकाले स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बालकको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको आमा लक्ष्मीले बताउनुभयो ।
केही महिनाअघि मात्रै बन्दीपुर-१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो भने एक बालिकासहित दुई जना चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा हालसम्म एक दर्जन बढी बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् । चितुवाको आक्रमणमा परी घाइते भएका बालकको उपचारका लागि बन्दीपुर गाउँपालिका कार्यालयले रु तीस हजार सहयोग गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

